एसियाली खेलकुद

सांसद पोखरेल र मेयर राजवंशीले यसरी रोपे धान

जनतासँग रमाउदै रोपियो धान

रंगेली संवाददाता

विराटनगर, १५ असार । मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धान रोपेका छन् ।

असार १५ राष्ट्रिय धान दिवसको अवसर पारेर सांसद पोखरेलले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा जनतासँग रमाउँदै खेतमा पुगेर धान रोपेका हुन् ।

शुक्रबार २० औँ  राष्ट्रिय धान दिवसको अवसरमा मोरङको सुनवर्षी– ५ मा साना किसान सहकारी संस्थाले धान रोपाईँ कार्यक्रम आयोजना गरेको थियो । सोही अवसरमा सांसद पोखरेलले स्थानीय जनतासँग रमाउदै धान रोपेका हुन् ।

चर्चित नेता तथा भिआइपीहरुले असार १५ को दिन ‘फेसन’ का रुपमा धान रोपे पनि सांसद पोखरेलले भने खेतमै पुगि धान रोप्न हिलो बनाएर ‘दाँदे’ लगाएर धान रोपेका हुन् ।

सो अवसरमा बोल्दै उनले सरकारलाई कृषिमैत्री नीति ल्याउन आफुले सदनमा कुरा उठाउँदै आएको बताए । सांसद पोखरेलले कृषकलाई मल र विउको अभाव हुन नदिन सरकार लाग्नुपर्ने र त्यसका लागि आफुले खबरदारी गर्ने समेत बताए ।

उनीसँगै सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले पनि धान रोपे । सो अवसरमा बोल्दै मेयर राजवंशीले सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रलाई प्रथामिकतामा राखेको बताए । उनले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न नगरपालिकाले सिँचाईका लागि विद्युत निःशुल्क गर्ने आफुले पहिलो निर्णय गरेका बताए ।

सुनवर्षी नगरपालिकाको सहयोगमा आयोजित धान रोपाईँ कार्यक्रममा सोही नगरपालिकाकी उपमेयर मिरादेवी दासको पनि सहभागीता रहेको थियो ।

सो धान रोपाईँ कार्यक्रममा स्थानीय कृषकहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यसैगरी शुक्रबारनै सांसद पोखरेलले रतुवामाईमा पनि पुगेर धान रोपेका छन् । अखिल नेपाल किसान महासंघले आयोजना गरेको धान रापाईँ कार्यक्रममा सहभागी भएर सांसद पोखरेलले धान रोपेका हुन् ।

सो अवसरमा बोल्दै सांसद पोखरेलले कुनै समय विदेश निर्यात गर्ने नेपालले हाल कृषि उत्पादनमा परनिर्भर हुँदै जानु परेकोमा चिन्ता व्यक्त गर्दै खेतबारी बाँझो राख्न नहुने बताए ।

उनले अहिले मलको हाहाकार रहेपनि सरकारको ध्यान भने सत्ता टिकाउनेमै केन्द्रीत रहेको बताए ।

प्रकाशित मिति: २०२३-०६-३० , समय : २२:३८:५८ , ११ महिना अगाडि