एसियाली खेलकुद

कर्सिया खानेपानी फिल्टर प्लान्टको उद्घाटन, खानेपानी आयोजनालाई बहुवर्षिय योजनामा हाल्ने मन्त्री कार्कीको प्रतिवद्धता

रंगेली संवाददाता

रंगेली । मोरङको धनपालथान गाउँपालिकास्थित खानेपानी आयोजना अन्तर्गत कर्सियामा जडान गरिएको फिल्टर प्लान्टको उद्घाटन भएको छ । एक कार्यक्रमकाबिच कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्कीले धनपालथान गाउँपालिका–४ कर्सिया स्थित सो प्लान्टको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै मन्त्री कार्कीले कर्सिया खानेपानी आयोजनाको विग्रिएर रहेको सोलार प्लान्टको क्षमता अभिवृद्धि गरिने बताउनुभयो । उहाँले जिर्ण अवस्थामा रहेको खानेपानी भवन, पानी ट्यांकीमा चढ्ने सिँढी र पर्खालहरु मर्मतका लागि सरकारले बजेट उलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । मन्त्री कार्कीले धनपालबाट रंगेली–२ स्थित मंगलबारेसम्म सो अयोजना अन्तर्गत पाइपलाइन विस्तार गर्ने कार्यलाई वहुवर्षिय योजना समेट्ने समेत बताउनुभयो ।

पदेश सांसद गयानन्द मण्डलले आफ्नो तर्फबाट कर्सिया खानेपानी योजनाका लागि आफूले सक्दो सयोग गर्ने बताउनुभयो । कोशी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री जिवन घिमिरेले कर्सिया खानेपानी योजनाका लागि तिनै तहको सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आफूबाट पनि गर्न सक्ने पहलकदमी र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा कर्सिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष खेमराज लोहनीले आफ्नो २४ महिने कार्यकालमा निकै कामहरु गर्न सफल भएको बताउनुभयो । उहाँले सो खानेपानी आयोजना नेपाल सरकारबाट हस्तान्तरण भएको र प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र तत्कालिन संघीय खानेपानी मन्त्री महेन्द्र राय यादवको सहयोगमा फेरी सरकारकै मातहतमा ल्याउन सफल भएको स्मरण गर्नुभयो ।

अध्यक्ष लोहनीले सरकारको मातहत आएलगत्तै २० लाख अनुदान प्राप्त गरेर पाइप खरिद गरि कर्सियामा विस्तार गरिएको जानकारी दिनुभयो । अध्यक्ष लोहनीले कोशी प्रदेश सरकारको सहयोगमा फिल्टर प्लान्ट जोड्न सकिएको बताउनुभयो । उहाँले हुलाकी सडक निर्माण गर्दा खानेपानी पाइपलाइनमा क्षती पुगेको र पुरानो समितिले वास्ता नगरेपनि आफु नेतृत्वमा आएपछि निकै संघर्ष गरेर ठेकेदारबाट क्षतिपूर्ती वापत ३५ सय मिटर पाइप र १० लाख रुपैयाँ अशुल गर्न सफल भएको बताउनुभयो ।

अध्यक्ष लोहनीले तत्कालिन अवस्थामा जम्मा ७४ जना मात्र उपभोक्ता रहेपनि हाल तीन गुणा बढी अर्थात २ सय २३ उपभोक्ता वृद्धि गर्न सफल भएको बताउनुभयो । उहाँले कर्सिया बजारस्थित खानेपानीको पाइप गाउँगाउँसम्म पुर्याउने योजना रहेको र आगामी असोजभित्र मंगलबारेसम्म पानी पुर्याएरै छाड्ने दावी गर्नुभयो । उक्त खानेपानी फिल्टर प्लान्ट र कम्प्रेसर प्रदेश सरकारको ३४ लाख रुपैयाँ बजेटबाट जडान गरिएको अध्यक्ष लोहनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-०७-२६ , समय : २१:१६:०१ , ४ दिन अगाडि