विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क आँखा जाँच शिवर अयोजना गरेको छ । रामलाल गोल्छा आँखा अस्पताल विराटनगर र तिलगंगा आँखा अस्पताल काडमाडौंसँगको सहकार्यमा क्लबले ग्रामथान गाउँपालिका–२ पिडारबनीको झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क शिविर आयोजना गरेको हो ।
शिविरमा १७५ निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन् । परीक्षणका क्रममा मधुमेहजन्य रेटिनोप्याथीसँगै मोतियाबिन्दु तथा अन्य विभिन्न आँखा सम्बन्धी समस्याहरू पहिचान गरी थप उपचारका लागि चिकित्सकहरुले सिफारिस गरेका छन् ।

शिविरमा आवश्यक परेका सेवाग्राहीलाई निःशुल्क चश्मासमेत वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष सरिता गोल्छाले जानकारी दिइन् । शिविरमा रामलाल गोल्छा आँखा अस्पताल विराटनगरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागी सम्बन्धित व्यक्ति तथा सहयोगीहरूलाई रोटरीको Four-Way Test अंकित प्रशंसापत्र समेत प्रदान गरिएको थियो।
क्लबकी अध्यक्ष गोल्छाले आफ्नो कार्यकाल २०२६–२७ मा यस्ता धेरै आँखा शिविर सञ्चालन गर्ने योजना रहेको बताइन् । ‘यो मेरो कार्यकालको पहिलो आँखा शिविर हो ।’ उनले भनिन्,‘आगामी दिनमा पनि यस्ता धेरै शिविर सञ्चालन गर्दै आवश्यक समुदायसम्म गुणस्तरीय आँखा स्वास्थ्य सेवा पु¥याउन क्लब निरन्तर प्रतिबद्ध रहनेछ ।’

प्रकाशित मिति: २०२६-०७-०७ , समय : १०:२०:११ , २ घन्टा अगाडि