एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको उदाहरणीय काम, जहदामा बालमैत्री खेल मैदान निर्माण

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उदाहरणीय कार्य गरेको छ । विपन्न समुदायका बालबालिका अध्यउन गर्ने मोरङको जहादा–३ स्थित बाल लक्ष्मी आधारभूत विद्यालयमा ह्याप्पी स्कूल परियोजना सञ्चालन गरि उदाहरणीय कार्य गरेको हो ।

क्लबले TEACH Platform अन्तर्गत बाल विकास कार्यक्रमको हिस्साका रूपमा ह्याप्पी परियोजनाअन्तर्गत विद्यालयका बालबालिकाका लागि सुरक्षित, मनोरञ्जनात्मक तथा बालमैत्री खेलमैदान निर्माण गरेको छ ।

विद्यालयमा बालकक्षादेखि कक्षा ५ सम्म अध्ययनरत १०५ जना विद्यार्थी यस परियोजनाबाट प्रत्यक्ष लाभान्वित भएका छन् । निर्माण गरिएको खेल मैदानमा ३ वटा पिङ, एक सी–स, एक स्लाइड र एक टर्नटेबल रहेका छन् । खेल सामग्रीहरू टिकाउ फाइबरग्लास तथा बलियो मेटल फ्रेम र सुरक्षित एङ्करिङ प्रणाली प्रयोग गरी निर्माण गरिएको क्लबले जनाएको छ।

परियोजनाको मुख्य उद्देश्य विद्यालयमा बालबालिकाका लागि खुसी, सुरक्षित र रमाइलो वातावरण सिर्जना गर्नुका साथै उनीहरूलाई शारीरिक गतिविधि, खेलकुद तथा सामाजिक अन्तरक्रियामा सहभागी हुन प्रोत्साहित गर्नु रहेको छ।

विद्यालयमा विद्यार्थीका लागि अझ आकर्षक र बालमैत्री बनाउन पनि यस परियोजनाले सहयोग पुग्ने अपेक्षा गरिएको क्लबकी अध्यक्ष सरिता गोल्छाले बताइन् ।

सो विद्यालयका प्रधानाध्यापक बलेश्वर राजवंशीले विद्यालयका बालबालिकाका लागि खेलमैदान निर्माण गरिदिएकोमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनलाई आभार प्रकट गरे ।

प्रकाशित मिति: २०२६-०८-१८ , समय : १०:१८:४६ , २५ सेकेन्ड अगाडि