विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को आयोजनामा विराटनगर–७ स्थित श्री सत्यनारायण आधारभूत विद्यालय परिसरमा चौथो चरण अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
“हरियो पृथ्वी, सुखी भविष्य” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा क्लबका अध्यक्ष सरिता गोल्छा, रोटेरियन बेनी गोपाल मुन्दडा लगायत क्लबका पदाधिकारी तथा सदस्यहरू र विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा बालबालिकामा प्रकृति संरक्षणप्रतिको जिम्मेवारी र दायित्वबोध विकास गर्ने उद्देश्यले विद्यालय परिसरमा विभिन्न प्रजातिका ३२ वटा बिरुवा रोपिएको क्लबले जनाएको छ।
अमला, सिरिस, अशोक, कपूर र रक्तचन्दन लगायत विभिन्न प्रजातिका विरुवा रोपिएको हो । कार्यक्रमका क्रममा क्लबका सदस्यहरूले विद्यार्थीहरूलाई बिरुवाको संरक्षण तथा नियमित हेरचाहको महत्त्वबारे जानकारी गराउँदै वातावरण संरक्षणमा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

विद्यालय परिसरलाई हरियाली, स्वच्छ तथा वातावरणमैत्री बनाउँदै विद्यार्थीहरूमा प्रकृतिप्रतिको प्रेम र संरक्षणको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-०६ , समय : २१:३६:१० , २१ सेकेन्ड अगाडि