एसियाली खेलकुद

सुनवर्षी नगरपालिकाले ल्यायो ६७ करोडको बजेटः पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा

रंगेली संवाददाता

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले १२ औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

नगरसभाका सभाध्यक्षसमेत रहेका नगर प्रमुख श्यामप्रसाद राजवंशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर प्रमुख राजवंशीले उपप्रमुख मिरादेवी दास केवरतलाई आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो ।

नगरसभामा उपप्रमुख दासले ६७ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको अनुमानित आय/व्यव विवरण प्रस्तुत गर्नुभयो । उपप्रमुख दासले चालुतर्फ ४९ करोड २२ लाख ४२ हजार रुपैयाँ र पूँजीगततर्फ १७ करोड ९० लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँले आर्थिक वर्ष २०८२÷०८३ मा सुनवर्षी नगरपालिकालाई संघीय सरकार समानीकरण अनुदानमा १४ करोड २५ लाख, संघीय सरकार राजश्व बाँडफाँडबाट ११ करोड ६३ लाख, प्रदेश सरकार समानीकरण अनुदान १ करोड ३४ लाख ३५ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ९० लाख ८७ हजार, बैंक मौज्दातबाट ३ करोड, आन्तरिक स्रोत तर्फ ६ करोड ३२ लाख ४० हजार, रजिष्ट्रेशन शुल्कबाट १ करोड, सघीय सरकार शसर्त अनुदान २७ करोड प्रदेश सरकार शसर्त अनुदान १ करोड १३ लाख २२ हजार रुपैयाँ बजेट प्राप्त हुने जानकारी दिनुभयो ।

नगर प्रमुख राजवंशीले पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखेर विनियोजन गरिएको बजेटबाट आर्थिक विकास, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन र संस्थागत विकास तथा सुशासन क्षेत्रमा खर्च हुने बताउनुभयो ।

नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफलमा भाग लिन नगर प्रमुख राजवंशीले नगरसभा सदस्यहरुलाई समय उपलब्ध गराउनुभएको थियो । नगरसभा सदस्यहरुले नीति, कार्यक्रम र बजेटका विषयमा बोल्दै विभिन्न विषय समेटन आग्रह गर्नुभएको थियो ।

छलफलमा उठेका विषयमा नगरसभाकै आगामी बैठकमा वृहत छलफल गरि छुटेका विषयलाई समेटेर नीति, कार्यक्रम तथा बजेट पारित गरिने बताउँदै नगर प्रमुख राजवंशीले सभा स्थगित भएको घोषणा गर्नुभयो ।

उक्त अवसरमा सुनवर्षी नगरपालिका र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरु मध्ये कार्य सम्पादनका मूल्यांकनका आधारमा उत्कृष्ट हुनुभएका प्रशासन प्रमुख लवकुश कटुवाल, प्रशासन शाखाकै कर्मचारी प्रदिप खतिवडा, भौतिक पूर्वाधार शाखाका इन्जीनियर शिरप भुटिया, २ नम्बर वडाका वडा सचिव अनिल दाहाल, स्वास्थ्य शाखाका कास वसन्त राजवंशी, दर्ता चलानी शाखाकी सावित्रा मोक्तान र विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्य सम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट कर्मचारीहरुको घोषणा सुनवर्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालले गर्नुभएको थियो । नगरसभा प्रशासन शाखा प्रमुख लवकुश कटुवालले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२५-०६-२५ , समय : २२:०५:०७ , ५ दिन अगाडि