एसियाली खेलकुद

एमालेबाट निर्वाचित वडाध्यक्ष भित्रभित्रै रास्वपाको संगठन विस्तारमा सकृय, तत्काल कारबाही गर्न कार्यकर्ताको माग

रंगेली संवाददाता

रंगेली । मोरङको रंगेलीका एक वडाध्यक्ष भित्रभित्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विस्तारमा सकृय हुँदै आएको खुलासा भएको छ । २०७९ सालको निर्वाचनमा नेकपा (एमाले) निर्वाचित रंगेली–१ का वडाध्यक्ष महेश कुमार खनाल रास्वपाको गतिविधिमा सकृय रहँदै आएको खुलेको हो ।

केही दिन अघि मात्र खनाल रास्वपा प्रवेश गरेको भनेर फोटा सार्बजनिक भएको थियो । तर, लगत्तै पार्टीबाट कारबाही हुन सक्ने र वडाध्यक्ष पदसमेत गुम्ने भएपछि विभिन्न सञ्चार माध्यममा उनले आफु कुनै पार्टीमा प्रवेश नगरेको बताएका थिए । वडाध्यक्ष खनालले आफु एमालेमै रहेको र पार्टी प्रवेशको हल्ला गलत रहेको बताए पनि उनी भित्रभित्रै रास्वपामा सकृय रहेको स्रोतले पुष्टि गरेको छ ।

शनिबार वडाध्यक्ष खनालकै घरमा रास्वपाले कार्यकर्ता भेला गरेपछि एमाले रंगेलीमा खैलाबैला मच्चिएको छ । रास्वपाको संगठन विस्तारका लागि एमालेमा रहेका वडाध्यक्ष खनालले रास्वपालाई आफ्नै घर प्रयोग गर्न दिएको भन्दै पार्टीभित्र उनको तिब्र आलोचना सुरु भएको छ ।

एमाले कार्यकर्ताहरुले उनलाई तत्काल कारबाही गरि वडाध्यक्षबाट समेत पद मुक्त गर्न माग गर्न थालेका छन् । पार्टी भित्र रहेर पार्टी विरोधी गतिविधि गरिरहेको भन्दै कार्यकर्ता यतिबेला खनालदेखि रुष्ट बनेका छन् । एमालेबाट नपाउने आँकलन गर्दै जुन पार्टीले राम्रो पदको अफर गर्छ उतै लाग्ने खनालले योजना बनाएको उनी निकटले बताएका छन् । खनाल २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पहिलो कार्यकाल वडाध्यक्ष निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा उनी एमालेबाट दोस्रो कार्यकाल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: २०२५-१२-२८ , समय : १८:२०:२३ , ४ घन्टा अगाडि