रंगेली । नेपाली कांग्रेस रंगेली नगर सभापतिमा विकास शिवाकोटी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी जितनारायण खवासलाई २१ मतले पछि पार्दै शिवाकोटी निर्वाचित भएका हुन् । उनले १३५ मत प्राप्त गर्दा खवासले ११४ मत ल्याए ।
सर्वसम्मत गर्ने प्रयास भएपनि असफल भएपछि निर्वाचन भएको हो । निर्वाचनमा कुल २८९ मत खसेको थियो । जसमध्ये नगर सभापतितर्फ २५ मत बदर भएको थियो ।
त्यस्तै महिला तर्फ उपसभापतिमा विना कुमारी मण्डल निर्वाचित भएकी छन् । उनले १३६ मत प्राप्त गर्दा विनादेवी शर्माले ८६ र सवाना खातुनले ३० मत प्रस्त गरे ।
सचिवमा अशोक साह १७१ मत ल्याउँदै निर्वाचित हुँदा अखिलेस अग्रवालले ६८ मत पाए ।
को हुन् शिवाकोटी ?
विद्यार्थी संगठनदेखि राजनीति सुरु गरेका शिवाकोटी नेवि संघ र तरुण दलको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका छन् । पार्टीका युवा पुस्ताले अवसर पाउनुपर्छ भन्ने मान्यता राख्ने उनले विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
लामो समयदेखि कांग्रेसको भ्रातृ संगठन हुँदै राजनीतिमा सक्रिय रहेका सिवाकोटीले २०५५ सालमा महेन्द्र मोरङ क्याम्पस विराटनगरमा नेविसंघको एकाइ सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।
उनी २०५७ सालमा स्ववियु सदस्य तथा २०६२ देखि २०७२ सालसम्म नेविसंघ मोरङ जिल्ला सदस्यका रूपमा सक्रिय रहेका थिए । त्यसपछि २०८१ सालदेखि तरुण दल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका उनी अहिले पार्टीको नगर समितिको मूल नेतृत्वमा आएका हुन् ।
नवनिर्वाचित सभापति शिवाकोटीले पछिल्लो समय युवाहरूलाई कांग्रेससँग जोड्ने गतिविधिलाई प्राथमिकता दिँदै आएका छन् । गाउँघरका विपन्न तथा समस्यामा परेका परिवारलाई उपचारका लागि अस्पतालसम्म पु¥याउने तथा आवश्यक सहयोग र सहजीकरण गर्ने सामाजिक गतिविधिमा समेत उनी सक्रिय छन् ।
प्रकाशित मिति: २०२६-०९-२६ , समय : ११:२२:१५ , २८ सेकेन्ड अगाडि